माघ २२,पोखरा – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध चितवनमा पूरक अभियोग दायर भएको छ ।
सहारा चितवन बहुउद्देश्यीय सहकारी ठगीमा संलग्न रहेको भन्दै लामिछानेसहित थप १५ जनाविरुद्ध चितवन जिल्ला अदालतमा पूरक अभियोग दायर भएको हो । लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशीलगायतविरुद्ध मुद्दा दायर भएको अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिनुभएको छ ।
सहारा सहकारी ठगीमा गएको असोज ८ गते सहकारीका संस्थापक गितेन्द्रबहादुर (जीबी) राईलाई मुख्य अभियुक्त बनाउँदै १७ जनाविरुद्ध मुद्दा दायर भइसकेको छ ।
सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको आरोपमा रविविरुद्ध काठमाण्डौ, चितवन, रुपन्देही, कास्की र पर्साबाट पक्राउ पुर्जी जारी भएको छ । कास्की, काठमाण्डौ र रुपन्देहीका जिल्ला अदालतले उनलाई धरौटीमा छाड्न आदेश दिएका छन् ।