फाल्गुन ०३,पोखरा- पर्वतको बिहादी गाउँपालिका वडा नं. १ बाच्छामा शनिवार दिउँसो भएको जीप दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा जीपका चालक घाईते भएका छन् । मृत्यु हुनेमा विहादी गाउँपलिका वडा नं. १ कमेरेका ५० वर्षिय बलबहादुर माझी रहेका छन् । उकालो सडकमा जीपले ब्रेक नलागेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक रामप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
ध १च २८२ नम्वरको जीप बागलुङको जैमिनीबाट कुश्मातर्फ फर्किने क्रममा विहादी गाउँपालिका वडा नं. १ बाच्छा स्थित बाह्रबिसेमा दुर्घटना भएको प्रहरीले जनाएको छ । घाईते चालकको अवस्था सामान्य रहेको छ । घाईते हुनेमा जीपका चालक कुश्मा नगरपालिका वडा नं. १ मालढुंगाका ४५ वर्षिय चन्द्र माझी रहेका छन् । उनको टाउको, निधार र छातीमा चोट लागेको छ । घाईते माझीको जिल्ला अस्पताल पर्वतमा उपचार भैरहेको प्रहरी निरिक्षक सापकोटाले जानकारी दिनुभयो । मृतकको शव पोष्टमार्टका लागि पर्वत अस्पतालमा राखिएको छ । दुर्घटना लगत्तै घटनास्थलमा पुगेको प्रहरीको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।