जेष्ठ ३,पोखरा – म्याग्दीमा आफ्नै घरको कामदारको हत्या आरोपमा एक दम्पती पक्राउ परेका छन् ।
धवलागिरि गाउँपालिका–५ मल्कबाङमा ४६ वर्षीय मनबहादुर दमाईको हत्या आरोपमा स्थानीय बलबहादुर दमाई र कर्मती दर्जीको दम्पती पक्राउ परेका हुन् ।
गत वैशाख २८ गते मल्कबाङको खाम्चास्थित जङ्गलमा मनबहादुरको हत्या गरेर फालेको अवस्थामा शव फेला परेको थियो । हत्या आरोपी दम्पत्तिलाई आज प्रहरीले सार्वजनिक गरेको छ ।
अनुसन्धानका क्रममा ती दम्पतीले हत्या गरी शव लुकाएको तथ्य फेला परेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
प्रहरीका अनुसार आरोपित दम्पतीले बाउँसोको बिँडले टाउको र शरीरका विभिन्न भागमा प्रहार गरी हत्या गरेपछि घटनालाई लुकाउन जङ्गलमा लगेर फालेको अनुसन्धानबाट खुलेको हो ।
आरोपितलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।