जेष्ठ २६,पोखरा – ट्राफिक नियम सम्बन्धी सचेतना अभिवृद्धि गर्दै सवारी दुर्घटना न्यूनीकरणका गर्ने उद्देश्यले गण्डकी प्रदेशमा ‘ट्राफिक सप्ताह–२०८२’ सुरु भएको छ ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौंडाले गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका लगायतका स्थानीय तहका तथा अन्य सरोकारवाला निकायहरूसँग सहकार्य गरेर सप्ताह सुरु गरेको हो ।
‘‘जिम्मेवार चालक ‘म’, जिम्मेवार यात्रु ’म’, सुरक्षित सडक र सवारी, हामी सबैको जिम्मेवारी’’ भन्ने आदर्श वाक्यका साथ प्रदेशका ११ वटै जिल्लाहरूमा साताव्यापी अभियानहरू सञ्चालन गरिने छन् । ट्राफिक नियमको प्रभावकारी रूपमा कार्यान्वयन गर्ने तथा दुर्घटना न्यूनीकरण गर्ने अभिप्रायका साथ ट्राफिक सप्ताह सुरु भएको हो ।
यो कार्यक्रमले सरोकारवाला सरकारी संयन्त्र तथा सरोकारवाला निकायबिच समन्वय सहकार्य एवं साझेदारी प्रवर्धन गर्ने र जनसहभागिता अभिवृद्धि गर्ने विश्वास राखिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौंडाले बताएको छ ।
साताव्यापी रूपमा कार्यक्रम सञ्चालन गर्न लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक बलबहादुर गुरुङले राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले सबै जिल्लाका लागि कार्यक्रमहरू तोकेर आएको बताउनुभयो । उहाका अनुसार सप्ताहको पहिलो दिन ११ वटै जिल्लाका सदरमुकाममा झाँकीसहित प्रभातफेरि निकालेर सप्ताहको उद्घाटन गरिएको छ । यो दिनमा सार्वजनिक सवारी साधनहरूको ढोकामा सिट क्षमतासहितको स्टिकर टाँस गरिएको छ ।