साउन १,पोखरा – कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २९ वर्षपछि स्याङ्जाबाट पक्राउ परेका छन् ।
कर्तव्य ज्यान गरी फरार रहेका तनहुँको भिमाद नगरपालिका ८ बस्ने ५१ वर्षीय फिरोज भन्ने फत्त बहादुर शाहीलाई आज बुधबार प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला अदालत तनहुँको २०६० माघ २८ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराबाट खटिएको प्रहरीले स्याङ्जा चापाकोट नगरपालिका ४ घुर्लिचौरबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार २२ चैत्र २०५२ मा तनहुँको साविक ढोरफिर्दी गाविस ८ र भानुमति गाविस ७ राईपुरको सिमानामा पर्ने क्याङ्दी खोला र वरखोला बीच जरेबरमा लागेको मेलामा महिलाको विषयमा सामान्य वादविवाद हुँदा फिरोजले स्थानीय चित्र बहादुर खाँडलाई खुकुरी तथा छुरी प्रहार गरी कर्तव्य गरी मारेर फरार भएका थिए ।
पक्राउ परेका फिरोजलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय तनहुँ पठाइएको छ ।