बुधबार, साउन १३, २०८३
Wednesday, July 29, 2026
Home Featured News आज सरकारी खाता बन्द हुने दिन, अन्तिम भुक्तानीको चाप

आज सरकारी खाता बन्द हुने दिन, अन्तिम भुक्तानीको चाप

by sambridhaonline

असार २५ , पोखरा – चालु आर्थिक वर्षको बजेटअन्तर्गत सरकारी भुक्तानी गर्ने आज अन्तिम दिन हो । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ मा आर्थिक वर्ष सकिनुभन्दा ७ दिनअघि नै सम्पूर्ण खाता बन्द गरी बजेट भुक्तानी निकासा रोक्का गर्नुपर्ने प्रावधान छ ।

यस व्यवस्थालाई बजेट खर्च रोक्का वा खाता बन्दी भनिन्छ । यसअनुसार आज राति १२ बजेदेखि खाता बन्द गर्नुपर्छ । यस्तो भुक्तानी पालिका, प्रदेश र सङ्घीय सरकार गरी सबै तहका सरकारी निकायको हकमा लागू हुनेछ । आजसम्म भुक्तानी हुन नसकेको अवस्थामा आउँदो आर्थिक वर्षको बजेटमा भएको व्यवस्थाबाट मात्रै यस्तो खर्च गर्न सकिने महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

हिजोसम्म सरकारले चालू आर्थिक वर्षका लागि विनियोजन गरेको १९ खर्ब ६४ अर्ब ११ करोड बजेटमध्ये १५ खर्ब ३१ अर्ब ९७ करोड १५ लाख रुपैयाँ खर्च भएको छ । याे बजेटको ७८ प्रतिशत बराबर हो । त्यसमध्ये चालूतर्फ ११ खर्ब ८० अर्ब ९८ करोडको विनियोजित बजेटमध्ये १० खर्ब ३० अर्ब ४२ करोड ८४ लाख अर्थात् ८७ दशमलव २५ प्रतिशत, पूँजीगततर्फ ४ खर्ब ७ अर्ब ८८ करोड ८० लाखमध्ये १ खर्ब ६३ अर्ब १७ करोड ३४ लाख अर्थात् ४० प्रतिशत तथा वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७५ अर्ब २४ करोड २० लाखमध्ये ३ खर्ब ३८ अर्ब ३६ करोड ९७ लाख अर्थात् ९० दशमलव १७ प्रतिशत बजेट खर्च भएको छ ।

आज भुक्तानीको चाप निकै रहेकोले भरे राति १२ बजेसम्म थप बढ्ने अनुमान छ । सरकारी खाताबाट हिजो एकैदिन १७ अर्ब ९ करोड ६६ लाख रुपैयाँ भुक्तानी भएको छ । त्यस्तै अस्ति मङ्गलवार ११ अर्ब ७६ करोड २२ लाख, सोमवार २८ अर्ब ५५ करोड ७१ लाख रुपैयाँ भुक्तानी भएको थियो । तर यस्तो खर्चमा चालूतर्फको भुक्तानी उल्लेख्य रहे पनि विकासे बजेट भनिने पूँजीगततर्फको भुक्तानी कमजोर छ । आज अन्तिम दिन भएकोले पालिकाहरूसहित सडक विभाग, शहरी विकास तथा भवन निर्माण विभागलगायत निकाय र यसअन्तर्गतका कार्यालयमा भुक्तानी प्रक्रिया टुङ्ग्याउने व्यस्तता देखिएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline