शनिबार, मंसिर १३, २०८३
Saturday, November 28, 2026
Home Featured News भीमफेदी दुर्घटनामा धेरै यात्रु चढ्नु र चालक निदाउनु मुख्य कारण हुन सक्ने प्रारम्भिक निष्कर्ष

भीमफेदी दुर्घटनामा धेरै यात्रु चढ्नु र चालक निदाउनु मुख्य कारण हुन सक्ने प्रारम्भिक निष्कर्ष

by sambridhaonline

कार्तिक २७, पोखरा – मकवानपुरको भीमफेदीमा हिजो भएको माइक्रोबस दुर्घटनामा क्षमताभन्दा बढी यात्रु बोक्नु र चालक निदाउनु मुख्य कारण हुन सक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष छ । प्रहरीका अनुसार १४ जना यात्रु बोक्ने क्षमता रहेको माइक्रोबसमा २० जना चढेका थिए । लगातारको यात्राका कारण चालक निदाएको हुन सक्ने प्रहरीको अनुमान छ । काठमाण्डौबाट सर्लाहीको लागि छुटेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको माइक्रोबस हिजो बिहान पौने ६ बजे मकवानपुरको भीमफेदीमा सडकबाट तल खसेर दुर्घटना भएको हो । प्रहरीका अनुसार दुर्घटनामा परेको माइक्रोबस अस्ति बुधबार राति मात्रै सर्लाहीबाट यात्रु लिएर काठमाण्डौ आएको थियो ।

हिजो बिहीबार फेरि यात्रु लिएर हेटौँडा हुँदै सर्लाहीतर्फ फर्किएको थियो । छोटो समयमै लामो दूरीको यात्रा गर्नुपरेका कारण चालक निदाएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । काठमाण्डौदेखि भीमफेदीसम्मको झन्डै ६१ किलोमिटरको यात्रामा प्रहरी र प्रशासनले क्षमताभन्दा धेरै यात्रु चढेकोबारे पनि थाहा पाएका थिएनन् । दुर्घटनामा १४ जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन् । ज्यान गुमाउनेमध्ये १३ जना सर्लाहीको सुन्दरपुर गाउँका रहेका छन् । मृतकमध्ये चार जना बालबालिका छन् । दुर्घटनामा १२ जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा ज्यान गएको हो । छठपर्व मनाउन घर फर्किरहेका यात्रु दुर्घटनामा परेपछि सुन्दरपुर गाउँ शोकमा डुबेको छ । एकै गाउँका ठूलो सङ्ख्यामा स्थानीयले ज्यान गुमाउँदा पीडित परिवार र आफन्तजन गहिरो पीडामा छन् ।

दुर्घटनाको वास्तविक कारण र घटनाको समग्र पक्षबारे छानबिन गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले समिति गठन गरेको छ । समितिले दुर्घटनाका कारण, सम्भावित लापरबाही र अन्य प्राविधिक पक्षबारे अध्ययन गर्नेछ । दुर्घटनापछि सार्वजनिक यातायातको सुरक्षा र यात्रुको सुरक्षामा ध्यान दिन सरकारमाथि दबाब बढेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सार्वजनिक गाडीको सुरक्षामा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएको छ । महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौलाले शोक वक्तव्य निकाल्दै घाइतेहरूको उपचार, आवश्यक स्वास्थ्य सेवा र पीडित परिवारलाई उचित राहतको तत्काल व्यवस्था गर्न सरकार तथा सम्बन्धित निकायसँग आग्रह गर्नुभएको छ ।

त्यस्तै, सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि दुर्घटनाका पीडित परिवारलाई तत्काल राहत र आवश्यक मानवीय सहयोग उपलब्ध गराउन सरकारसँग अनुरोध गरेको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline