असार २७ , पोखरा – पोखरामा गरिएको प्रदुषण परीक्षणमा जाँच गरिएका ४० वटा सवारीसाधनमध्ये २२ वटा सवारी तोकिएको प्रदुषण मापदण्डमा असफल भएका छन्। अत्यधिक धुवाँ उत्सर्जन गरेको पाइएपछि ती सवारीलाई आवश्यक कारबाहीका लागि यातायात व्यवस्था कार्यालय कास्की पठाइएको छ।
जिल्ला ट्राफिक कार्यालय कास्की र यातायात व्यवस्था कार्यालय कास्कीको संयुक्त टोलीले शनिबार पोखराको न्यूरोड क्षेत्रमा प्रदुषण परीक्षण गर्ने विशेष उपकरणसहित सिटी बस तथा अन्य डिजेल इन्जिनबाट सञ्चालन हुने सवारीसाधनको अनुगमन गरेको थियो।
अनुगमनका क्रममा ४० वटा सवारीसाधनको प्रदुषण परीक्षण गर्दा २२ वटा सवारीले तोकिएको मापदण्डभन्दा बढी धुवाँ उत्सर्जन गरेको फेला परेको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ।
प्रदुषण परीक्षणमा असफल भएका सवारीसाधनलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउन यातायात व्यवस्था कार्यालय कास्की पठाइएको छ।
ट्राफिक प्रहरीले वायु प्रदुषण न्यूनीकरण, वातावरण संरक्षण तथा सडकमा सञ्चालन हुने सवारीसाधनलाई मापदण्डअनुसार सञ्चालन गराउने उद्देश्यले यस्ता अनुगमनलाई निरन्तरता दिइने जनाएको छ। साथै सवारीधनी तथा चालकलाई समयमै सवारीसाधनको मर्मतसम्भार गरी प्रदुषण मापदण्ड पालना गर्न आग्रह गरिएको छ।