असार १ पाेखरा – मलमास अर्थात् अधिकमास आजदेखि सकिंदैछ । गएको जेठ ३ गतेदेखि शुरु भएको मलमासको आज अन्तिम दिन हो । हरेक ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटमा मलमास पर्ने गर्छ । अधिकमासलाई पुरुषोत्तममास पनि भनिन्छ । मलमासका कारण रोकिएका धार्मिक तथा साँस्कृतिक कार्यक्रम भोलिदेखि शुरु हुँदैछन् । पर्सि रातो मच्छिन्द्रनाथको रथ लगनखेलको थतिटोलबाट तानेर जावलाखेल पुर्याउने तयारी छ । आज सोमबारे औँसी पनि मनाइँदैछ । सोमबार औँसी परेका दिन बिहान नबोली स्नान गर्ने वैदिक सनातन धर्मावलम्बीको प्राचीनकालदेखिको परम्परा रही आएको छ । अधिक ज्येष्ठ कृष्ण औँसी आज सोमबार परेको हो ।
समाचार
अमेरिका र इरानबीच शान्ति सम्झौताको घोषणासँगै एशियाली बजारमा तेलको मूल्य घट्यो
असार १ , पोखरा – एशियाली बजारमा कच्चा तेलको मूल्य तीव्र रुपमा घटेको छ । पाकिस्तानले अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने उद्देश्यसहित सम्झौता भएको घोषणा गरेपछि विश्व ऊर्जा बजारमा सकारात्मक असर देखिएको हो ।
बीबीसीका अनुसार अन्तर्राष्ट्रिय बजारमा मानक मानिने ब्रेन्ट कच्चा तेलको मूल्य झण्डै ४ प्रतिशतले घट्दै प्रति ब्यारेल ८३ अमेरिकी डलर ८१ सेन्टमा झरेको छ । त्यस्तै अमेरिकी बजारमा कारोबार हुने कच्चा तेलको मूल्य झण्डै ४ दशमलव ७ प्रतिशतले घटेर प्रति ब्यारेल ८० डलर ८९ सेन्टमा पुगेको छ ।
विशेषज्ञहरूका अनुसार आउँदा केही दिन तेल बजार अत्यन्त अस्थिर रहने अनुमान गरिएको छ । इरान नजिकै रहेको महत्वपूर्ण समुद्री मार्ग हर्मुज जलमार्ग युद्धका कारण आंशिक रूपमा अवरुद्ध भएको थियो, जहाँबाट विश्वको झण्डै २० प्रतिशत कच्चा तेल तथा एलएनजी आपूर्ति हुने गर्छ ।
ऊर्जा विश्लेषक एन्ड्रयू लिपोका अनुसार यो मार्ग पुनः पूर्ण रूपमा सञ्चालनमा आउन केही समय लाग्न सक्छ । युद्धका कारण कच्चा तेलको मूल्य पहिले प्रति ब्यारेल करिब ७० डलरबाट बढेर करिब १२० डलरसम्म पुगेको थियो । मध्यपूर्वमा ऊर्जा आपूर्तिमा देखिएको सुधारको संकेतले एसियाली अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको भए पनि दीर्घकालीन स्थायित्व अझै अनिश्चित रहेको छ ।
कुश्मा नगरपालिका अन्तर्गत का समुदायिक विद्यालयका शिक्षक शिक्षिकलाई आईसीटी तालिम शुरु
जेष्ठ ३१ , पोखरा – रोटरी क्लव अफ पर्वतको आयोजना, रोटरी क्लव अफ काठमाण्डौको सहयोग एवम् स्थानीय नारायण माध्यामिक विद्यालयको संयोजनमा पर्वत जिल्ला कुश्मा नगरपालिका अन्र्तगत रहेका विभिन्न विद्यालयका २५ जना शिक्षक शिक्षिकको लागि शनिवार देखि दुई दिने सुचना तथा सञ्चार प्रविधि सम्वन्धि तालिम कार्यशाला शुभारम्भ भएको छ । सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षक शिक्षिकाको सुचना प्रविधि सम्वन्धि क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त तालिम कार्यशालामा नारायण माध्यामिक विद्यालयको साथै सो अन्र्तगतका फिडर विद्यालयका शिक्षक शिक्षिकाको सहभागिता रहेको छ ।

तालिम शुभारम्भ कार्यक्रममा वोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद शर्माले आँफू विद्यालय व्यवस्थापन समितिको सदस्य हुँदै नेतृत्वमा आईपुग्दा झण्डै १२ वर्ष विद्यालयको हरेक गतिविधीमा संलग्न रहेको तर यस किसिमको उपयोगी प्राविधिक तालिम कार्यशाला पहिलो पटक रोटरी क्लव अफ पर्वतले आयोजना गरेको भन्दै क्लवप्रति आभार व्यक्त गर्नुभयो । तालिम शुभारम्भ कार्यक्रममा वोल्दै रोटरी क्लव अफ पर्वतका संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाईले रोटरी एउटा विश्वव्यापी सेवामुलक संस्था भएको वताउदै शिक्षा, स्वास्थ्य, आयआर्जनको क्षेत्रमा काम गर्दै आएको वताउँदै शिक्षा र प्राविधीक ज्ञानमा अध्यात्मिक चिन्तनलाई एकिकृत गर्न सकेमा सिकाईले पुर्णता पाउने वताउनु भयो । शिक्ष्ँक विद्यार्थीहरुमा आध्यात्मिक चिन्तन, वैदिक सनातनी संस्कारमा ह्रास आएसंगै अनुसासनमा कमी आएको भन्दै संस्थापक अध्यक्ष प्रसाईले आध्यात्मिक चिन्तन, वैदिक सनातनी संस्कार, विज्ञान संवत शिक्षा र शुसासित राजनीतिको लागि आफ्नो वाँकी जीवन समर्पित रहेको वताउनु भयो । शुभारम्भ समारोहमा रोटरी क्लव अफ पर्वतका पुर्व अध्यक्षद्वय उत्तम प्रसाद अधिकारी, योगराज गिरी, रोट्याक्ट क्लव अफ पर्वत पोखराका प्रतिनिधी मितेश हमाल समेतको सहभागिता रहेको थियो ।
होटल र पर्यटकीय क्षेत्र भरिभराउ : भारतीय पर्यटकको आगमनले पोखराको पर्यटन क्षेत्र उत्साहित
जेष्ठ ३० , पोखरा – भारतीय पर्यटकको आगमनसँगै पर्यटकीय राजधानी पोखरा यतिबेला भरिभराउ बनेको छ । लेकसाइड क्षेत्रमा पर्यटकको चहलपहल बढ्दा डुङ्गा सयरदेखि ट्रेकिङ गतिविधिसम्म चलायमान बनेको छ ।
फेवातालमा एकै दिन ५ हजारभन्दा धेरै पर्यटकले डुङ्गा सयर गरेको डुङ्गा व्यवसायीले बताएका छन् । त्यस्तै, अन्नपूर्ण क्षेत्रलगायत आसपासका पदमार्गमा पनि भारतीय पर्यटकको उल्लेख्य उपस्थिति देखिएको छ ।
पर्यटकको बढ्दो चापसँगै पोखराका धेरैजसो होटल भरिभराउ भएका छन् । पर्यटकले होटल भरिएपछि व्यवसायीहरू खुशी छन् । ‘अफसिजन’ मानिने यो बेला पनि पोखरामा भारतीय पर्यटकको संख्या बढेको ट्रेकिङ एजेन्सी एशोसिएशन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताउनुभयो ।यसलाई नेपालको पर्यटन क्षेत्रका लागि सुखद र सकारात्मक संकेतका रुपमा लिन सकिने उहाँ बताउनुहुन्छ ।
होटल संघ पोखराका अध्यक्ष लक्षुमण सुवेदीकाअनुसार विगत ३२ वर्षकै इतिहासमा यस वर्ष सबैभन्दा धेरै भारतीय पर्यटक नेपाल भित्रिएका छन् । वैशाख नयाँ वर्षयता बढेको पर्यटकको चाप जेठको अन्तिमसम्म पनि निरन्तर रहेको छ ।
पोखरा मात्र नभई गण्डकी प्रदेशका अन्य धार्मिक तथा पर्यटकीय स्थल मुक्तिनाथ र विभिन्न पदयात्रा मार्गहरूमा समेत भारतीय पर्यटकको संख्या उत्साहजनक देखिएको छ । भारतमा बढ्दो गर्मी छल्न र बिदाको सदुपयोग गर्नका लागि भारतीय नागरिकले नेपाललाई उपयुक्त र उत्कृष्ट गन्तव्यका रूपमा रोजेका छन् ।
जेष्ठ ३० , पोखरा – सेफ सन्तोष साह पक्राउ परेका छन् । साहलाई बैंकिङ कसुरमा गएराति जनकपुरबाट पक्राउ गरिएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले पुष्टि गरेको छ ।
काठमाण्डौ गैरीधारामा रहेको एक रेष्टुरेन्ट खरिदको विषयमा पुरै रकम नदिएको भन्दै साहविरुद्ध सकुन्तला थापा (अधिकारी)ले मुद्दा दायर गर्नुभएको थियो ।
जिल्ला अदालत काठमाण्डौको अनुमति पाएपछि धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८ रमानन्द चोकबाट साहलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ ।
जेष्ठ २८ पाेखरा – फुटबलको इतिहासमै पहिलो पटक तीन देश अमेरिका, मेक्सिको र क्यानडा आयोजक रहेको फिफा विश्वकप २०२६ आज मध्यरातिदेखि शुरु हुँदैछ । विश्व फुटबलको महाकुम्भको पहिलो दिन दुई खेल हुँदैछन् ।
उद्घाटन खेलमा आयोजक मेक्सिकोले दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ । पहिलो दिनको दोस्रो खेल दक्षिण कोरिया र चेक गणतन्त्रबीच हुनेछ । यससँगै ४८ देश सहभागी विश्वकपको प्रतिस्पर्धा शुरु हुनेछ । यस पटकको विश्वकप इतिहासमै सबैभन्दा ठूलो संस्करण हो ।
तीनवटा देशको १६ शहरमा खेलाइने प्रतियोगिता ३९ दिनसम्म चल्नेछ । कुल १०४ खेल हुनेछन् । फिफाका अनुसार प्रतियोगिताका लागि १ हजार २४८ खेलाडी छनोट भएका छन् । तीमध्ये ८९१ खेलाडी पहिलो पटक विश्वकप खेल्दैछन् भने ३५७ खेलाडी पहिले विश्वकप खेलिसकेका छन् ।
यस पटक केप भर्डे, कुरासाओ, जोर्डन र उज्बेकिस्तानले पहिलो पटक विश्वकपमा स्थान बनाएका हुन् । उद्घाटन खेलअघि भव्य उद्घाटन समारोह आयोजना गरिनेछ । समारोहमा शाकिरा, बर्ना ब्वाय, जे बल्भिन, टाइला, आलेहान्द्रो फर्नान्डेज, बेलिन्डा र मानालगायत चर्चित कलाकारको प्रस्तुति रहनेछ ।
मेक्सिकोमा पहिलो उद्घाटन समारोहपछि क्यानडाको टोरन्टोमा दोस्रो उद्घाटन समारोह हुनेछ । आज राति नै अमेरिकाको लस एन्जलसमा तेस्रो उद्घाटन समारोह आयोजना गरिनेछ ।
प्रतियोगिता अमेरिकाका ११, मेक्सिकोका ३ र क्यानडाका २ शहरमा खेलाइनेछ । कुल खेलमध्ये अधिकांश खेल अमेरिकामा हुनेछन् भने फाइनल न्युयोर्कको मेटलाइफ स्टेडियममा खेलाइनेछ । मेसी, रोनाल्डो, एम्बाप्पेसँगै नयाँ पुस्ताका स्टारहरूबीचको प्रतिस्पर्धाले यो विश्वकप ऐतिहासिक बनाउने अपेक्षा गरिएको छ ।
गृहमा सुधनको कमब्याक : महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रर्बतन मन्त्री बन्दै
जेष्ठ २६ , पोखरा – प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले सांसद सुधन गुरुङलाई गृहमन्त्रीमा नियुक्त गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिश गर्नुभएको छ । गुरुङले आजै दिउँसो ३ बजे राष्ट्रपति पौडेलबाट पद तथा गोपनीयताको शपथ लिने तयारी छ ।
यसअघि गुरुङ गएको चैत १३ गते गृहमन्त्री नियुक्त हुनुभएको थियो । तर सम्पत्ति विवरणको विषयमा प्रश्न उठेपछि उहाँले राजीनामा दिनुभएको थियो ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वगृहमन्त्री गुरुङको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिले पेश गरेको प्रतिवेदन ग्रहण गरेसँगै गृहमा उहाँ फर्कनु लाग्नुभएकाे हाे ।
यस्तै विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुनलाई सरकारले सिफारिश गरेको छ । उहाँले पनि आजै राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ ।
जेष्ठ २५ , पाेखरा – एशियाली खेलकुद छनोट प्रतियोगिताको उपाधिका लागि आज नेपाल र हङकङबीच प्रतिस्पर्धा हुँदैछ । खेल सिंगापुरको नेश्नल क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो सवा १२ बजे शुरु हुनेछ ।
नेपालले सेमिफाइनलमा ओमानलाई ८ विकेटले हराउँदै फाइनलमा पुगेको हो । यता दोस्रो सेमिफाइनलमा हङकङले मलेसियालाई ६ विकेटले पराजित गर्दै फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो । नेपाल र हङकङबीच अहिलेसम्म १४ अन्तर्राष्ट्रिय प्रतिस्पर्धा भएका छन् । जसमध्ये नेपालले ७ खेल जितेको छ भने हङकङ ५ खेलमा विजयी भएको छ । दुई खेल नतिजाविहीन सकिएको छ । लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएको नेपाल उपाधि जित्ने लक्ष्यसहित आज मैदान उत्रनेछ । नेपालसँगै मलेसिया, हङकङ र ओमान एशियाली खेलकुदको लागि छनोट भइसकेका छन् ।
जेष्ठ २४ , पोखरा – कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ घटेको छ ।
सुन आज तोलामा आठ हजार २०० र चाँदी ३३५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज भाउ घटेर सुन तोलाको ३ लाख ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
अस्ति शुक्रबार सुनको भाउ तोलाको ३ लाख ९ हजार रुपैयाँ थियो । आज चाँदी तोलाको चार हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको छ । अस्ति शुक्रबार चाँदी तोलाको पाँच हजार २३० रुपैयाँमा कारोबार भएको थियो ।
जेष्ठ २४ , पोखरा – नेपाल एशियाली खेलकुद छनोट क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।
आज भएको पहिलो सेमिफाइनलमा ओमानलाई ८ विकेटले हराउँदै नेपाल फाइनलमा पुगेको हो । बिहान सिंगापुरको नेश्नल क्रिकेट मैदानमा भएको खेलमा ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले ९ ओभर २ बलमा दुई विकेट गुमाएर भेट्टायो ।
नेपालको जितमा लोकेश बमले अविजित ४४ र कप्तान रोहित पौडेलले २१ रन बनाए । त्यस्तै कुशल भुर्तेल २० रन बनाएर आउट भए । ओमानका समीर ओटमनले नेपालका दुवै विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको ओमान १९ ओभर ४ बलमा सबै विकेट गुमाउँदै ९४ रनमा अलआउट भयो । ओमानका कप्तान सफ्यान मेहमुदले सर्वाधिक ३८ रन बनाए भने जुबैर अल बलुशीले २२ र अब्दुल जाइलले १६ रन जोडे ।
नेपालका करण केसीले तीन विकेट लिए । सोमपाल कामी र सन्दीप लामिछानेले समान दुई/दुई तथा शाहब आलम, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले एक/एक विकेट लिए । जीतसँगै नेपाल उपाधिनजिक पुगेको छ । उपाधिका लागि नेपालले हङकङ र मलेसियाबीचको दोस्रो सेमिफाइनल खेलको विजेतासँग खेल्नेछ ।