फागुन १२,पोखरा – सरकारले प्रतिनिधिसभा निर्वाचनका लागि फागुन २० देखि २२ गते सम्म सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगको सिफारिस अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि फागुन २० देखि २२ गते सम्म सार्वजनिक विदा दिने निर्णय गरेको हो । प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते देशैभर हुँदैछ ।
sambridhaonline
फाल्गुन १२, पोखरा – धादिङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका सबैको परिचय खुलेको छ । बेनिघाट रोराङ गाउँपालिकाको चरौँदी नजिक भैँसेडाँडामा सोमवार राति भएको बस दुर्घटनामा ज्यान गुमाएका तीन विदेशीसहित सबै १९ जनाको परिचय खुलेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
अस्ति आइतवार बेलुका पोखराबाट काठमाण्डौका लागि छुटेको ग २ ख १२३१ नम्बरको बस सडकबाट त्रिशूली नदी किनारमा खसेर दुर्घटना भएको थियो । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दुर्घटनामा बेलायती, भारतीय र चिनियाँ एक/एक सहित १९ जनाको ज्यान गएको हो ।
दुर्घटनामा घाइते भएका २५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अबिनारायण काफ्लेका अनुसार १४ जनाको काठमाण्डौको ट्रमा सेन्टरमा, १० जनाको नेशनल अस्पताल कलङ्कीमा र एक जनाको धादिङ अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाको छानबिन गर्न गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन भएको छ ।
फाल्गुन ११ , पोखरा – उत्तर कोरियाको सत्तारूढ ‘वर्कस पार्टी’ ले किम जोङ उनलाई फेरि महासचिवमा चयन गरेको छ । राजधानी प्योङयाङमा चलिरहेको पार्टी महाधिवेशनको चौथो दिन उहाँ महासचिवमा सर्वसम्मत चयन हुनुभएको समाचार संस्था एपीले जनाएको छ ।
पार्टीले किमको नेतृत्वमा आणविक क्षमता विस्तार र सैन्य शक्ति सुदृढीकरणलाई आउँदो पाँच वर्षको केन्द्रीय कार्यदिशा बनाउने सङ्केत दिएको छ ।
पार्टी नियमअनुसार सन् २०१६ यता प्रत्येक पाँच वर्षमा आयोजना हुने भेलाले महासचिव चयन गर्दै आएको छ । ४२ वर्षीय किमले पार्टीमा शीर्ष पद सम्हालिरहनुभएको छ – पहिले पहिलो सचिव, त्यसपछि अध्यक्ष र सन् २०२१ देखि महासचिवको पदमा रहँदै आउनुभएको छ ।
सत्तारूढ पार्टीले किम जोङ उनको नेतृत्वमा ‘आक्रमणको कुनै पनि खतरा’ र ‘कुनै पनि प्रकारको युद्ध’ सामना गर्न सक्ने सैन्य शक्ति निर्माण भएको दाबी गर्दै राष्ट्रिय गौरव र आत्मसम्मान बढेको उल्लेख गरेको छ ।
भेलाले शक्तिशाली केन्द्रीय समितिको नयाँ सूची सार्वजनिक गर्दै नेतृत्व तहमा पुस्तागत परिवर्तनको सङ्केत दिएको खबरमा उल्लेख छ । १ सय ३८ सदस्यीय निकायमा केही वृद्ध सैन्य अधिकारीहरू र सर्वोच्च जनसभाका ७६ वर्षीय अध्यक्ष चोइ रियोङ हे बाहिरिनुभएको छ । मार्सल पाक जोङ चोन र रि प्योङ चोललगायत विगत दशकमा आणविक विकाससँग जोडिएका केही उच्च अधिकारीहरू पनि सूचीमा समावेश हुनुभएको छैन । अन्तर–कोरियाली मामिलामा संलग्न किम योङ चोल र रि सोन ग्वोनलाई समेत हटाइएको दक्षिण कोरियाली एकीकरण मन्त्रालयका प्रवक्ता युन मिन होले बताउनुभएको छ ।
विश्लेषकहरूले किमले परम्परागत सेनालाई आणविक क्षमतासँग एकीकृत गर्ने नयाँ सैन्य लक्ष्य सार्वजनिक गर्न सक्ने आँकलन गरेका छन् । उहाँले विशेषतः कोभिड–१९ महामारीपछि चीनसँगको व्यापार र रुससँगको सहकार्यबाट लाभ लिने रणनीतिका बीच जन–परिचालनमार्फत आर्थिक ‘आत्मनिर्भरता’ अभियानलाई पुनः जोड दिने सम्भावना पनि देखिएको छ ।
किमले गएको सेप्टेम्बरमा बेइजिङ भ्रमण गरी चिनियाँ राष्ट्रपति सी जिनपिङसँग ६ वर्षपछि पहिलो शिखर वार्ता गर्नुभएको थियो । युक्रेन युद्धमा रुससँगको सहकार्य र आणविक कार्यक्रमको आक्रामक विस्तारपछि अमेरिका र दक्षिण कोरियासँगको सम्बन्ध थप तनावपूर्ण बनेको छ ।
धादिङमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १७ पुग्यो , दुइ जना बिदेशी नागरिक पनि रहेको पुस्टि
फाल्गुन ११ , पोखरा – फाल्गुन ११ , पोखरा – पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौंदी नजिकै बस दुर्घटना हुँदा १७ जनाको ज्यान गएको छ ।
पोखराबाट काठमाण्डौका लागि छुटेको ग २ ख १४२१ नम्बरको बस गएराति साढे १ बजेतिर त्रिशूली नदी किनारमा खसेको हो । दुर्घटनामा ११ जना पुरुष र ६ जना महिलाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ज्यान गुमाउनेमध्ये १ महिला र १ पुरुष विदेशी नागरिक रहेका छन् ।
ज्यान गुमाउनेहरुको सनाखत हुन बाँकी छ । २६ जना घाइतेको उद्धार गरी अस्पताल पठाइएको छ । दुर्घटनास्थलबाट सबै घाइतेहरुको उद्धार गरेको प्रहरीको भनाइ छ । केही घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने धेरैजसोलाई काठमाण्डौ पठाइएको छ ।
फागुन १० , पोखरा – लमजुङमा बंगुरमा लाग्ने अफ्रिकन स्वाइन फिभर देखिन थालेको छ । सुंगुर–बंगुरजन्य पशुमा लाग्ने यो प्राणघातक विषाणुजन्य रोग जिल्लाका २ वटा बंगुर फार्ममा लागेका पुष्टी भएको हो ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय, लमजुङका अनुसार बेँसीसहर नगरपालिका–६ का केही बंगुर फार्ममा गरिएको ¥यापिड एन्टिजेन परीक्षणमा अफ्रिकन स्वाइन फिभर पोजिटिभ देखिएको छ । यसले ठूलो क्षति हुनसक्ने चेतावनी कार्यालयले दिएको छ । यसले ठूलो क्षति हुनसक्ने चेतावनी कार्यालयले दिएको छ ।
कार्यालय प्रमुख डा. सुनिल न्यौपानेले २ वटा फार्ममा संक्रमण पुष्टि भएको र हालसम्म ११ वटा बंगुर बिरामी परेको बताउनुभएकाे छ । संक्रमित पशुमा उच्च ज्वरो आउने, कान, पुच्छर र पेटको तल्लो भागको छाला रातो हुने, शरीरमा निलो धब्बा देखिने, खाना नखाने, बान्ता गर्ने तथा ब्याउने पशु तुहिने जस्ता लक्षण देखिने डा. न्यौपानेले बताउनुभयाे । यस्ता लक्षण देखिएमा नजिकको पशु सेवा शाखा वा भेटेरिनरी अस्पतालमा जानकारी गराउन उहाँले किसानसमक्ष आग्रह गर्नुभएकाे छ ।
कार्यालयले सुंगुर तथा बंगुर पालकलाई खोर र परिसर क्षेत्रमा नियमित रुपमा चुना, ब्लिचिङ पाउडर, फर्मालिन, सोडियम हाईपोक्लोराइट लगायतका रसायन प्रयोग गरी निःसंक्रमण गर्न, शंकास्पद पशुलाई अलग राख्न तथा मरेका पशुलाई खाडल खनी सुरक्षित रुपमा गाड्न निर्देशन दिएको छ । होटल तथा रेस्टुरेन्टबाट फालिएका खानेकुरा नखुवाउन र तयारी दाना बाहेक अन्य आहारा दिनुपरे राम्ररी पकाएर मात्र खुवाउन पनि कार्यालयको सुझाव छ ।
कार्यालयले सुंगुर–बंगुर तथा सुंगुरजन्य पशुलाई एउटा फार्मदेखि अर्को फार्ममा लैजान वा बाहिरी जिल्लाबाट भित्राउन प्रतिबन्ध लगाएको छ । कार्यालयका अनुसार लमजुङका यसअघि २०७९ सालमा पनि अफ्रिकन स्वाइन फिभर देखिएको थियो । त्यतिबेला १ हजार १ सयभन्दा बढी बंगुर मरेका थिए । यो रोगको उपचार छैन । मानिसमा यो रोग नसर्ने भए पनि संक्रमण लागेपछि प्रायः सबै सुंगुर–बंगुर मर्ने भएकाले उच्च सतर्कता अपनाउनुबाहेक विकल्प नभएको पशु चिकित्सक बताउँछन् ।
फागुन ८ ,पाेखरा – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट ११ किलोग्राम २७० ग्राम लागूऔषध गाँजासहित ३ जना भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा ४३ वर्षीया समीना अख्तर बैग मिर्जा, २४ वर्षीय मोहम्मद जुनैद र ४४ वर्षीय अफसाना अमीर हुसेन शेख रहेका केन्द्रीय प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेले जानकारी दिनुभयो ।
विमानस्थल सुरक्षा कार्यालय र लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएको टाेलीले उनीहरूलाई पक्राउ गरेकाे हाे । पक्राउ परेका तीनै जनालाई अनुसन्धान तथा कारबाहीका लागि आजै लागूऔषध नियन्त्रण ब्युरो पठाइएको प्रवक्ता काफ्लेले बताउनुभयो ।
फाल्गुन ७ , पोखरा – यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशमा १४ हजारभन्दा बढी कर्मचारी खटिने भएका छन् ।
प्रदेशका ११ जिल्लामा रहेका २ हजार ३ सय ९६ मतदान केन्द्रमा ६ जनाका दरले १४ हजार ३ सय ७६ जना कर्मचारी खटिने प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्रप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
एउटा मतदान केन्द्रमा १–१ जना मतदान अधिकृत र सहायक मतदान अधिकृत, ३ जना सहायक कर्मचारी, १ जना कार्यालय सहयोगी र ३ जना स्वयंसेवक खटिने उहाले बताउनुभयो ।
जिल्लामा रहेका मुख्य निर्वाचन अधिकृतको कार्यालयमार्फत कर्मचारी व्यवस्थापनको काम भइरहेको छ । छनोट भएका मतदान अधिकृत, सहायक मतदान अधिकृतलगायत कर्माचारीलाई तालिम दिएर मतदान केन्द्रमा पठाइने कार्यालयले जनाएको छ ।
गण्डकी प्रदेशका ११ वटै जिल्लामा १ हजार २९७ मतदानस्थल र १ हजार ३९६ मतदान केन्द्र छन् । प्रदेशमा १८ लाख ७० हजार ६५ मतदाता छन् ।
यहाँ सबैभन्दा बढी कास्कीमा ३ लाख ८ हजार ५७२ र सबैभन्दा कम मनाङमा ७००० मतदाता छन् । स्याङ्जामा ३ लाख ४८ हजार ८१६, तनहुँमा २ लाख ५४ हजार ३९७, नवलपुरमा २ लाख ६८ हजार ५२६, गोखरामा २ लाख २९ हजार ५८ र बागलुङमा १ लाख ९३ हजार १८१ मतदाता छन् ।यस्तै, लमजुङमा १ लाख ३७ हजार १२४, पर्वतमा १ लाख २५ हजार ४६६, म्याग्दीमा ८६ हजार ३९७ र मुस्ताङमा ११ हजार ३३८ मतदाता छन् । प्रदेशका कुल मतदातामध्ये ९ लाख १४ हजार ५३५ पुरुष, महिला नौ लाख ५५ हजार ५१६ र अन्य १४ जना छन् ।
गण्डकी प्रदेशमा २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा १६ लाख ६२ हजार २४६ मतदाता थिए । हालको चुनावमा २ लाख ७ हजार ८१९ नयाँ मतदाता थपिएका हुन् । गण्डकीमा १८ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र छन् ।
फाल्गुन ७ , पोखरा – आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।
२००७ साल फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा यो दिवस मनाउन थालिएको हो । फागुन ७ गतेकै जगमा टेकेर २०४६ सालको चैत २६ गते प्रजातन्त्र पुनःस्थापना भएको थियो । यसैको जगमा २०६३ साल वैशाख ११ गते लोकतन्त्र प्राप्त भएको थियो ।
यसै पृष्ठभूमिमा २०६५ सालको जेठ १५ गते पहिलो संविधानसभाले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक देशको रुपमा स्थापित गरेको छ । दोस्रो संविधानसभाले २०७२ सालको असोज ३ गते संविधान घोषणा गरी कार्यान्वयन भएको छ । सबै परिवर्तनको जग फागुन ७ गतेको प्रजातन्त्र दिवस भएकाले पनि यसलाई विशेषरुपमा मनाउने गरिन्छ ।
प्रजातन्त्रकै जगमा देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भए पनि अझै नागरिकले भने र खोजेजस्तो नभएको भन्दै गुनासा र असन्तुष्टि बढिरहेका छन् । यही असन्तुष्टिकैबीच गएको भदौ २३ र २४ गते नवयुवाहरुले विद्रोह गरेका थिए । भदौको नवयुवाको विद्रोहपछिको विशेष परिस्थितिमा आउँदो २१ गते प्रतिनिधिसभाको चुनाव हुँदैछ ।
फागुन ६ , पाेखरा – आज ग्याल्पो ल्होसार, शेर्पा समुदायले विभिन्न कार्यक्रम गरी मनाउँदै छन् । ‘ल्हो’ अर्थात् वर्ष अनि ‘छार’ अर्थात् नयाँ भनिन्छ । शेर्पा समुदायले ग्याल्पो ल्होसारलाई नयाँ वर्षका रुपमा मनाउने गर्छन् ।
पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार गुथुक र खाप्से खाने तथा एकआपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा छ ।
पारिवारिक एवम् सामाजिक मेलमिलाप अभिवृद्धि गर्ने अवसरका रूपमा यो पर्वलाई लिइन्छ । नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायलगायत महायान बौद्ध परम्परामा चन्द्रमास गणना गरी फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन नयाँ वर्ष शुरू हुने विश्वाससहित ग्याल्पो ल्होसार मनाइन्छ । स्याब्रु नृत्य, तुङ्गना (डम्याङ) को मधुर धुन र सामूहिक उल्लासले ग्याल्पो ल्होसारलाई अझ अर्थपूर्ण बनाउँछ ।
नयाँ वर्षका रुपमा मनाइने यो पर्वले नयाँ आशा, उमङ्ग र उल्लास बोकेर समाजमा आपसी प्रेम, भाइचारा, सद्भाव र एकताको भावना अझ सबल बनाउन सहयोग पुग्ने पनि विश्वास छ । यो पर्वले परिवार, मित्रता र समुदायबीचको सम्बन्धलाई थप घनिष्ठ बनाउँदै सहकार्य र समझदारीको वातावरण सृजना गर्छ । ग्याल्पो ल्होसारको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
स्कुल बस दुर्घटनाः घाइते ३ जनाबाहेक सवै डिस्चार्ज , उपचारपछि चालक प्रहरीकाे नियन्त्रणमा
फागुन ५ ,पाेखरा – / बागलुङमा भएको स्कुल बस दुर्घटनामा घाईते ३ जना विद्यार्थी बाहेक अरु सवै अस्पतालबाट डिस्चार्ज भएका छन् । घाईते मध्ये दुई जना विद्यार्थीको पोखराको मणिपाल शिक्षण अस्पतालमा र एक जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको विद्यालयका प्रिन्सिपल कृष्ण बहादुर अधिकारीले जानकारी दिनुभयाे । अरु सवै विद्यार्थी र शिक्षिका उपचारपछि घर फर्केका छन् ।
विद्यालयबाट घर फर्किने क्रममा गत माघ २९ गते दिउसो साढे ४ बजे बागलुङ नगरपालिका वडा नंं. १ स्थित न्यु एभरेष्ट एकेडेमीको ग ३ च ८६२१ नंं को स्कुल बस बागलुङ नगरपालिका वडा नं. ३ हाँडेपाखामा दुर्घटना भएको थियो । सो दुर्घटनामा बिधार्थी, शिक्षक र चालक गरी २६ जना घाईते भएका थिए ।
मणीपाल शिक्षण अस्पतालमा निकित किसान र सुमन गैरे तथा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा संगम किसानको उपचार भइरहेको अस्पतालले जनाएको छ । सवै घाईतेको उपचार खर्च बिद्यालयले व्यवस्था गरेको छ ।
उपचारपछि चालक वीरबहादुर थापा मगर प्रहरी नियन्त्रणमा छन । प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
सो दुर्घटनाको छानबिन गर्न गठित जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख प्रकाशबन्धु अर्यालको संयोजकत्वमा रहेको छानविन समितिले पनि आफ्नो काम गरीरहेको छ ।
छानविन समितिका सदस्य सचिव जिल्ला प्रशासन कार्यायलका प्रशासकीय अधिकृत खिम बहादुर विश्वकर्माले छानविनको काम भइरहेको र घट्नाका सरोवालासंग बुझ्ने काम भइरहेको बताउनुभयाे । छानविन समितिले एक दुई दिनमा नै आफ्नो काम पुरा गरी प्रतिवेदन बुझाउने तयारी गरीरहेको जानकारी दिनुभयाे ।